चन्द्रपुर, असार २१ । 

अहिले सबैको एउटै गुनासो छ -शिक्षक सुतेका छन् । शिक्षकलाई मस्ती छ । तर सबै शिक्षक सुतेका छैनन् । केही  शिक्षकलाई मस्ती होइन भ्याइनभ्याई छ । 
रौतहटको चन्द्रपुर नपा वडा नंं. २ मा अवस्थित श्री मावि जुडिबेलाका केही शिक्षकहरू भने अहिले व्यस्त रहेका छन् त्यो पनि घरको काममा नभएर पठनपाठनको कार्यमा । 
श्री मावि जुडिबेलाले असार ९ गतेदेखि कक्षा ९ र १० लाई लक्षित गरेर जुम एपका माध्यमबाट नियमित कक्षा संचालन गरिरहेको छ । यसमा अनिवार्य विषयको पठनपाठन भइरहेको छ । 
              त्यस्तै यस विद्यालयले असार १७ गतेदेखि बालविकास र कक्षा १ लाई लक्षित गरेर गृह अध्ययनको व्यवस्था मिलाइएको विद्यालयका प्र अ युगल किशोर कुमारले जानकारी दिनुभएको छ । जुन टोलमा विद्यार्थी छन् त्यस टोलकै स्थानीय शिक्षक परिचालन गरेर पठनपाठनको व्यवस्था मिलाइएको छ । सामाजिक दुरी कायमलाई प्राथमिकता दिइएको छ । सहभागीलाई विद्यालयले नै नि:शुल्क रुपमा कापी र सिसाकलमको समेत व्यवस्था गरिदिएको बाल सहयोगी कार्यकर्ताले जनाएका छन् । यस कार्यक्रमबाट बालविकास र कक्षा १ का गरि करिब ६५ विद्यार्थी लाभान्वित हुनेछन्  ।