तिमीलाई सलाम छ (कविता)
हरिहर अजेय अधिकारी, रौतहट
वाह
क्या कमाल गरिदियौ
सलाम छ
छडके सलाम
तिमीलाई मेरो
मेरो मात्र किन
मेरो सपरिवारको
कोटि कोटि प्रणाम ।
अल्लाहले नरोजेको
क्राइश्टले नसोचेको
राम,
क्रीश्न
अनि बुद्धले
चाहँदाचाहँदै पनि नसकेको
तिमीले सहजै रोज्यौ
तिमीले सहजै सोच्यौ
तिमीले सहजै सक्यौ
तसर्थ,
क्या कमाल गरिदियौ
सलाम छ
छड्के सलाम
तिमीलाई मेरो ।
महामहिम भनाउँदाहरूदेखि
मगन्ते भनाउँदाहरूसम्म
शक्तिशाली भनाउँदाहरूदेखि
काँतर भनाउँदाहरूसम्म
वासिङ्टनदेखि ढाका काठमाडौँसम्म
यत्र
तत्र
सर्वत्र
साँच्चै सम्म बनाइदियौ
समान औकात बनाइदियौ
गर्जनेहरूलाई
ओठतालु सुक्ने बनाइदियौ
बोलक्कडहरूको
बोली सुकाइदियौ
नियम बिना
कानुन बिना
हातहतियार बिना
अनि झ्यालखाना बिना
सबैलाई बन्दी बनाइदियौ
नाकाबन्दी लगाइदियौ
शान्त अनि शान्त वातावरणमा पनि
त्राहिमाम् त्राहिमाम् बनाइदियौ
सलाम छ
छड्के सलाम
तिमीलाई मेरो
मानवलाई प्रिय ठान्ने तिमी
कोरोनालाई
कोटि कोटि प्रणाम छ ।।
२०७७ वैशाख ०२
1 Comments
राम्रो र सान्दर्भिक कविता ।
ReplyDeleteकमेन्टका लागि हजुरलार्इ धेरै धेरै धन्यवाद छ । हामीसँग निरन्तर जाेडिनका लागि अनुराेध छ ।
हजुरका लागि याे पनि
https://www.youtube.com/channel/UCV4BMEd0zxf4UXWhCKnJs9Q?view_as=subscriber